४७औँ राष्ट्रपतिका रूपमा अमेरिकाको बाघडोर समाहाल्दै डोनाल्ड ट्रम्प
अमेरिकाले ४७औँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पलाई छानेको छ । राष्ट्रपति पदमा रहँदा चुनाव हारेर पूर्वराष्ट्रपतिका रूपमा चुनाव जित्ने ट्रम्प दोस्रो नेता हुन् । अमेरिकामा १३२ वर्षअघि ग्रोभर क्लेभल्यान्डले राष्ट्रपति रहँदा चुनाव हारेर फेरि अर्कोपटक चुनाव जित्दै दोस्रो कार्यकाल राष्ट्रपति बनेका थिए । ट्रम्पले भने क्लेभल्यान्डलेजस्तो एउटै प्रतिद्वन्द्वीलाई नभई फरक प्रतिद्वन्द्वीलाई हराएर त्यो उपलब्धि हासिल गरेका छन् ।
ट्रम्पले यो उपलब्धि हासिल गरिरहँदा अमेरिका दोस्रोपटक पनि महिलालाई देशको राष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुर्याउन अनिच्छुक देखिएको छ । अर्थात् अमेरिकी मतदाता महिला उम्मेदवारप्रति उदार देखिएनन् । यसपटक रिपब्लिक पार्टीले एकैपटक केही जादुमय प्रदर्शन गर्यो । उसले राष्ट्रपति पदसँगै सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा पनि डेमोक्र्याटिक पार्टीलाई निकै पछि छाड्यो । यसरी हेर्दा अमेरिकामा ट्रम्प नेतृत्वमा बलियो सरकार बन्ने देखिएको छ ।
अमेरिकामा राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल मत ल्याउनु आवश्यक छ । सातवटा स्विङ्ग स्टेटबाट डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बन्न ५१ इलेक्टोरल मत आवश्यक थियो भने कमला ह्यारिसलाई ४६ इलेक्टोरल मत चाहिन्थ्यो । अमेरिकामा यो निर्वाचनमा स्विङ्ग स्टेटका रूपमा रहेका पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया, नेभाडा, विस्कन्सिन, मिसिगन र एरिजोना थिए ।
यीमध्ये अघिल्लो चुनावमा नर्थ क्यारोलिनामा मात्रै ट्रम्प विजयी भएका थिए । त्यसैले छवटा स्विङ्ग अर्थात् ब्याटलग्राउन्ड राज्यमध्ये कमला ह्यारिसले पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिनमा मात्रै जित हात पारेको भए चुनाव जित्ने निश्चित थियो । यीमध्ये कुनै एक राज्य गुमाएको अवस्थामा जर्जिया, एरिजोना र नेभाडामा जितेको भए ह्वाइट हाउसको ढोका खुल्ने थियो । तर, उनी कुनै पनि ब्याटल ग्राउन्ड राज्य जित्न सफल भइनन् ।
ट्रम्पले कसरी पासा पल्टाए ?
ट्रम्पको यो जितका पछि रिपब्लिकन पार्टीले पारम्परिक मत रहेको ग्रामीण इलाकामा गरेको राम्रो प्रदर्शन हो । कमला ह्यारिसले ग्रामीणभन्दा शहरी र उपनगरीय क्षेत्रहरूमा राम्रो नतिजा ल्याउने अनुमान गरिएको थियो । तर, उनी केही हदसम्म अघिल्लोपटक जो बाइडेनले जितेका राज्य जोगाउन सफल भए पनि ब्याटल ग्राउन्डका जनताले उनलाई पत्याएनन् ।
नर्थ क्यारोलिनामा अघिल्लोपटक पनि ट्रम्पले जितेकाले सामान्य रूपमा लिइए पनि ३० वर्षपछि बाइडेनले ११ हजारभन्दा बढी मतान्तरले नतिजा पल्टाएको जर्जियामा कमलाले नतिजालाई निरन्तरता दिन सकिनन् । यसको अर्थ कमला र बाइडेनले शहरी र उपनगरीय क्षेत्रका जनताको अपेक्षालाई पूरा गर्न नसकेको देखियो ।
बराबरीको प्रतिस्पर्धा ठानिएको राष्ट्रपति निर्वाचनमा ब्याटल ग्राउन्ड स्टेट एकतर्फी रूपमा ट्रम्पको पोल्टामा गएको देखियो । फ्लोरिडाको मार–ए–लागोमा ट्रम्पको इलेक्सन वाच पार्टीमा उत्सवको माहौल देखिँदा ह्यारिस समर्थक हार्वर्ड विश्वविद्यालयमा निराशामा देखिन्छन् । चुनाव सकिएलगत्तै मंगलबार बिहानै विभिन्न सर्वेक्षण सार्वजनिक भए, जसमा ब्याटल ग्राउन्ड स्टेटमा कमलाभन्दा ट्रम्प १ देखि ६ प्रतिशतसम्मको अग्रतामा रहेको देखाइएको थियो । परिणामले निर्वाचन सर्वेक्षण सही भएको देखाएको छ ।
यो निर्वाचनमा अधिकांश महिलाले कमला ह्यारिसलाई र अधिकांश पुरुष मतदाताले डोनाल्ड ट्रम्पलाई मत हाल्ने अनुमान गरिएको थियो । तर, कमलालाई मत हाल्ने महिला जो बाइडेनलाई मत हाल्नेभन्दा कम देखिए । सन् २०२० को निर्वाचनमा ५७ प्रतिशत महिला मतदाताले बाइडेनलाई मत हालेकोमा यसटक कमलाको पक्षमा जम्मा ५४ प्रतिशत मात्रै महिलाको मत देखियो । मत रुझानमा डेमोक्र्याटिक पार्टीमा महिला मतदाताको विकर्षण हेर्ने हो भने यो चिन्ताको विषय मान्न सकिन्छ ।
डोनाल्ड ट्रम्प जब राजनीतिमा आए, उनी पहिलोपटक नै राष्ट्रपति भए । त्यसअघि उनले पटकपटक पार्टी फेरेका थिए भने राजनीतिमा सक्रिय मानिदैन थिए । उनले संसद, सिनेटर वा गभर्नरका रूपमा काम गरेनन् । बरु एउटा व्यापारीबाट सिधै राष्ट्रपतिको कुर्सीमा पुगे । अघिल्लो कार्यकाललाई हेर्ने हो भने ट्रम्पले कतिबेला के गर्छन्, कसैलाई थाहा हुँदैन । ट्रम्प यसलाई आफ्नो बलियो पक्ष मान्छन् ।
यो निर्वाचनमा भयो पनि त्यस्तै । केही अमेरिकीहरू अलग–अलग कारणले रुष्ट थिए । युक्रेन र इजरायललाई बाइडेन सरकारले अर्बौं डलर सहायता दियो । अमेरिकी पैसा, प्रविधि र हतियारको बलमा युक्रेनले रुसविरुद्ध र इजरायलले मध्यपूर्व (पश्चिम एसिया) मा प्यालेस्टाइन, हमास र हुथीविरुद्ध युद्ध लडिरहेको छ । अमेरिकीहरू भने दशकौँयताको चर्को महँगीको मारमा छन् । त्यसैले पनि यो निर्वाचनमा महँगी प्रमुख मुद्दाका रूपमा देखियो र बाइडेन प्रशासनसँग रुष्ट मतदाता फेरि ट्रम्पतिर फर्किए ।
अधिकांश मतदाता, खासगरी पुरुष मतदाता कमला ह्यारिसको तुलनामा ट्रम्पलाई बलियो नेता ठान्छन्, त्यसैले पनि निर्णायक मत ट्रम्पको पक्षमा गयो । यसबाट ट्रम्प बलियो अवस्थामा देखिए ।
ट्रम्पका विवादित काण्डमा माफी !
अघिल्लो कार्यकाल अमेरिकी राष्ट्रपति पदमा रहँदैदेखि डोनाल्ड ट्रम्प अनेकौँ काण्डमा मुछिए । उनी महाअभियोगको समेत सामना गरिसकेका व्यक्ति हुन् । ट्रम्प फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व वा बहालवाला राष्ट्रपति हुन् । पोर्नस्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएर यौन सम्बन्ध राखेको आरोप उनीमाथि छ ।
यो मुद्दामा दोषी ठहर भएका उनलाई यसै महिनाको अन्त्यमा सजाय सुनाइँदै छ । यौनकाण्डदेखि अमेरिकी राष्ट्रपति हुँदा गोप्य फाइलहरू आफ्नो घरमा लगेको सम्मका काण्डमा उनी जोडिएका छन् । उनलाई केही समयअघि अदालतले यौन उत्पीडनसहित ३४ वटा मुद्दामा दोषी ठहर गरेको थियो ।
यस अर्थमा उनी अमेरिकी राष्ट्रपतिको उम्मेदवारका रूपमा एक विवादित पात्र हुन् । तर, उनका यस्ता दर्जनौँ काण्ड निर्वाचनसँगै माफी हुने अवस्थामा पुगेका छन् । ट्रम्प र कमला ह्यारिसलाई चारित्रिक रूपमा तुलना गर्ने हो भने कमला धेरै माथि छिन् । तर, अमेरिकी मतदाताले उनका यस्ता काण्डमाथि आँखा चिम्लिँदै उनलाई राष्ट्रपति बनाएका छन् । यसले अमेरिकी समाज कुन स्तरको चेतनाबाट गुज्रिरहेको छ भनेर आरोपित गर्न सकिन्छ ।
महिला उम्मेदवार अवसर कि कमजोरी ?
राजनीतिमा भावनाको स्थान खासै ठूलो हुँदैन । राजनीति राजनीति नै हो र यो स्वभावैले कठोर हुन्छ । अमेरिकी निर्वाचनले यसपटक दिएको एउटा सन्देश पनि हो यो । अमेरिकाले एक दशकभन्दा कम समयमा देशको सर्वोच्च पदमा महिलालाई पुर्याउने अवसर गुमाएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाटै उम्मेदवार थिइन् । हिलारीले ४८.२ प्रतिशत मत पाउँदा ट्रम्पले ४६.१ प्रतिशत मात्रै मत पाएका थिए । हिलारी पपुलर मतमा ट्रम्पभन्दा झण्डै ३० लाखले अघि थिइन् । तर चुनाव डोनाल्ड ट्रम्पले जिते ।
यसपटक ट्रम्प कमला ह्यारिसभन्दा पपुलर मत र इलेक्टोरल मत दुवैमा अघि देखिएका छन् । यसले अमेरिकी समाज अझै पनि महिला नेतृत्वप्रति उदार छैन भन्ने स्पष्ट भएको छ । कमला अमेरिकी मात्रै होइन, एसियन र अफ्रिकन समुदायसँग समेत साइनो जोडिएकी उम्मेदवार थिइन् । त्यसैले उनले यी समुदायबाट पनि ठूलो मत पाउने र विजयी बन्ने अनुमान थियो । तर, यी अनुमान केवल अनुमानमै सीमित बनेका छन् ।
आज पनि नेपालसहित तेस्रो विश्वमा अमेरिकाका अनेकौँ एनजीओ र आईएनजीओ छन्, जसले तेस्रो विश्वमा महिला अधिकार, सशक्तीकरण र नेतृत्व विकासलाई नारा बनाएका छन् । तर, जब अमेरिकाभित्रै महिला नेतृत्व स्थापित गर्ने र इतिहास रच्ने कुरा आयो, तब अमेरिकी समाज पूरै तर्सियो । यसबाट अमेरिकाको महिला नेतृत्वबारेका रटान कति वाहियात रहेछन् भन्ने स्पष्ट पारेको छैन र ? अमेरिकाका अघि महिला नेतृत्व निर्माणको अवसर डेमोक्र्याटिक पार्टीको हारको एउटा प्रमुख कारण र कमजोरीमा रूपान्तरण भएको छ ।
आप्रवासीप्रति अनुदार अमेरिकी समाज
अमेरिकी निर्वाचनमा यसपटक एउटा प्रमुख एजेन्डा आप्रवासीको मुद्दा पनि थियो । रिपब्लिकन उम्मेदवार ट्रम्प आप्रवासीप्रति कडा नीति बनाउने पक्षमा छन् । उनी अवसर र अधिकार परम्परागत गोरा अमेरिकी नागरिकमा केन्द्रित गर्न चाहन्छन् । अमेरिकामा पछिल्लो समयमा ल्याटिन अमेरिकाहुँदै विश्वभरका मानिसहरू पुगेका छन् ।
यसबाट अमेरिकी जनतामा अवसर सीमित हुन पुगेको, कतिपय आप्रवासीका कारण त्यहाँका मूलवासीको अधिकार खोसिएको वा रोजगारी गुमेको उनको बुझाइ छ । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले महिलाको गर्भपतनको अधिकारको भावनात्मक मुद्दा उठाइरहँदा ट्रम्पले आप्रवासनको मुद्दा उठाइदिए । जो बाइडेनको शासनको चारवर्षे अवधिमा सीमा क्षेत्रमा मुठभेडका घटना रेकर्ड स्तरमा पुगेका थिए । यसले ट्रम्पको आप्रवासनको मुद्दामा बढी अमेरिकीको विश्वास जागृत भयो ।
अर्कोतिर कमला ह्यारिस आफैँ पनि आप्रवासी परिवारमा जन्मिएकी महिला हुन् । त्यसैले त्यहाँका मूलवासीका लागि उनी पहिलो रोजाइको उम्मेदवार बनिनन् । अर्कोतिर स्विङ्ग स्टेटहरूसहित केही दक्षिणी राज्य र समुद्री सीमा भएका राज्यमा आप्रवासीको प्रभाव बढ्दो मात्रामा छ । यी तिनै राज्य हुन्, जहाँ मतदाताको प्राथमिकता स्पष्ट हुँदैन र अन्तिम समयमा मत जता पनि जान सक्छ । यी राज्यमा पनि मूलवासी अमेरिकीको मत ट्रम्पलाई गएको देखिन्छ भने प्राथमिकता निश्चित नभएका मतदाताहरू अन्तिम समयमा ट्रम्पको पक्षमा ढल्किएका हुन सक्छन् । त्यसैले कमला ह्यारिसलाई यो चुनाव कठिन भयो ।
प्रमुख चुनावी मुद्दा र पार्टीभित्रैको विरोध
अमेरिकाको यसपटक निर्वाचनमा आप्रवासनसँगै महिलाको गर्भपतनको अधिकार, महँगी, अर्थव्यवस्थामा सुधारजस्ता प्रमुख घरेलु मुद्दा र मध्यपूर्वको युद्ध, रुस–युक्रेन युद्धसहितका विदेशनीतिसँग सम्बन्धित मुद्दा थिए । अमेरिकी जनताले यतिबेला ऐतिहासिक रूपमा महँगीको सामना गरिरहेका छन् भने इजरायल र युक्रेनलाई ठूलो मात्रामा गरेको सहयोगसँगै अर्थतन्त्र कमजोर भएको, बाइडेन प्रशासन युद्धमा केन्द्रित भएको जस्ता आवाज थिए । ट्रम्पले आफू राष्ट्रपति बनेमा रुस–युक्रेन युद्ध समाप्त गर्नेदेखि मध्यपूर्वमा शान्ति ल्याउनेसम्मका वाचा गरेका छन् ।
अरब मुस्लिम समुदाय गाजामा इजरायलले गरेको अमानवीय हमला र मुस्लिम समुदायमाथिको कत्लेआमलाई लिएर बाइडेन प्रशासनसँग रुष्ट थियो । ट्रम्पले यसपटक यी असन्तुष्ट मतदातालाई आफूतिर तान्ने कोसिस गरे र यसमा उनी केही हदसम्म सफल भएको देखिन्छ । आप्रवासन, गर्भपतनमा महिलाको अधिकारजस्ता विषयसँगै अर्थव्यवस्था, स्वास्थ्य नीति, धनीलाई कर र मध्यम वर्गलाई सहुलियत, युद्धनीतिसमेत अमेरिकी चुनावका एजेन्डा थिए । त्यसमा ट्रम्पका नीति प्रभावी देखिए । यो निर्वाचनले विश्वव्यापी सुरक्षा र अमेरिकाको भूमिकाजस्ता विषयलाई प्रभाव पार्नेछ । एक वाक्यमा भन्दा यो परिणामले अमेरिकाको घरेलु र विश्वव्यापी परिदृश्यलाई फेरिदिनेछ ।
रिपब्लिकन ट्रम्प अमेरिकी परिवेशका ‘परम्परावादी दक्षिणपन्थी’ हुन् । ट्रम्प र उनका समर्थकले कमला ह्यारिसमाथि वामपन्थी कट्टरवादी भएको आरोप लगाएका थिए । दक्षिणी सिमाना खुला गरेर बाइडेन र कमला ह्यारिसले गैरकानुनी रूपमा आप्रवासीलाई प्रश्रय दिएको र यसले अमेरिकाको सामाजिक पहिचान र स्थायित्वमा नै असर पार्ने उनीहरूको आरोप छ ।
यीबाहेक एक अर्का उम्मेदवार यो चुनावमा एकअर्काप्रति चर्को आरोप प्रत्यारोपमा उत्रिए । तर रोचक कुरा, यसपटक दुवै पार्टीमा आफ्नै पार्टीभित्रका बलिया आलोचक पनि देखिए । ट्रम्पले रिपब्लिकनलाई परम्पराबाट टाढा र अतिवादतर्फ धकेलेको रिपब्लिकन नेताहरूले नै आरोप लगाएर कमला ह्यारिसलाई मत नहाल्न अभियान चलाएका थिए ।
यस्तै बाइडेन–ह्यारिस प्रशासनले इजरायलको अन्धो समर्थन गरेर गाजामा नरसंहार मच्चाउन सहयोग गरहेको भन्दै ह्यारिसलाई मत नदिन डेमोक्र्याटकै एउटा खेमा लागेको थियो । त्यस अर्थमा यो निर्वाचनलाई निकै रोचक परिघटनाका रूपमा हेर्नुपर्छ ।
ट्रम्पले युद्धको वातावरण फेर्लान् ?
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि त्यसले विश्व राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने अनेकौँ विश्लेषणहरू सुरु भइसकेका छन् । युद्ध, राजनीति, कूटनीति र आर्थिक हिसाबले सबै देशहरू अमेरिकाको नयाँ सत्तासँग हिसाब जोडघटाउ गर्न लागिसकेका छन् ।
अघिल्लोपटक राष्ट्रपति भएपछि ट्रम्पले चिनियाँ सामानमाथि ठूलो मात्रामा कर लगाएका थिए, जसले गर्दा भारतसहितका देशहरू अमेरिकासँग व्यापार गर्न उत्साहित थिए । केही समयअघि मात्रै बाइडेन प्रशासनले १९ वटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अब ट्रम्प आएपछि भारत र अमेरिकाबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्ने एकतर्फी आकलन भारतीय सञ्चारमाध्यममा सुरु भइसकेको छ । तर, ट्रम्प यो मामिलामा प्रस्ट देखिन्छन् । उनी कुनै व्यापारमा अमेरिकालाई फाइदा हुन्छ भने त्यसलाई निरन्तरता दिनेछन् र घाटा भए तत्कालै पछि हट्नेछन् ।
इजरायलप्रति ट्रम्पको नीति नरम देखिन्छ । उनले अघिल्लो कार्यकालमा पनि तेल अभिभमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलममा सार्ने निर्णय गराएका थिए । त्यसैले इजरायल–हमास युद्ध चलिरहेका बेला अमेरिकी सत्तामा ट्रम्पको उदयले इजरायललाई उत्साहित पार्न सक्छ । तर, जसरी गाजा युद्ध अन्त्यको वाचा गरेर अरब अमेरिकी मुस्लिम भोट आफूतिर तानेका छन्, त्यो भने ट्रम्पबाट पूरा नहुन सक्छ । उनी मुस्लिम संसारप्रति अघिल्लो कार्यकालमा निकै अनुदार देखिएकाले यसपटक पनि उनका कतिपय नीतिले निरन्तरता पाउन सक्छ ।
रुससँग सम्बन्ध सुधार भएको अवस्थामा ट्रम्पको उपस्थितिले रुस–युक्रेन युद्धको दिशा बदलिन सक्छ । तर, ट्रम्प आफ्नै पहलमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुरा सहज नहुन सक्छ । किनकि उनले त्यसका लागि कि युक्रेनलाई पछि हटाउन सक्नुपर्छ, कि रुसलाई मनाउने क्षमता राख्नुपर्छ । यसअघिको उनको प्रस्तुतिलाई हेर्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चातुर्यताका अघि ट्रम्प फिक्का देखिन सक्छन् ।
अमेरिकी नेतृत्वकाे सैन्य संगठन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को विस्ताको विषयले सुरु भएको रुस-युक्रेन युद्ध ट्रम्प नेतृत्वमा कसरी अगाडि बढ्छ भन्ने चासो छ । ट्रम्प नेटो सदस्य राष्ट्रका लागि अमेरिकी खर्च कटौती गर्ने र उनीहरूले नै खर्च बढाउनुपर्ने बताउँदै आएका छन् । यसले युराेपेली मुलुक र अमेरिकाबीचको सम्बन्धलाई कसरी सन्तुलनमा राख्छ भन्ने पनि प्रश्न छ ।
ट्रम्प राष्ट्रपति निर्वाचित भएलगत्तै रुसले उनलाई बधाई दिन अस्वीकार गरेको छ । उसले अमेरिकासँगको ठोस परिदृश्यका आधारमा निर्णय लिने बताएको छ । यसको अर्थ अमेरिकाले युक्रेन नीतिमा बदलाव ल्याउनुपर्ने माग रुसको हुन सक्छ । यद्यपि उनको अघिल्लो कार्यकालमा अमेरिकाले कुनै युद्ध सुरु नगरेको र दुस्मनीपूर्ण सम्बन्ध रहेको उत्तर कोरियासँग वार्तासमेत गरेकाले ट्रम्पले आफ्नो अविश्वसनीय व्यक्तित्व यहाँ झल्काउन पनि सक्नेछन् ।
भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
7 घण्टा अगाडि राजन बस्नेत२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १...
‘अस्थायी शिक्षकलाई बिदा, स्थायीलाई पुनः परीक्षा’
साझा दृष्टि संवाददाताप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर...
माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्नेतबहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो...
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी...
गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी
राजन बस्नेतदोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला...
सुनको मूल्यमा उच्च गिरावट एकैदिनमा १५ हजार ९०० घट्यो
राजन बस्नेतसुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर...